राज कुमार सर्दार
कटहरी ५, मोरङ

मेरो बुबाले खेतीपाती गर्न ट्र्याक्टर किन्नुहुँदा लागेको ॠण तिर्न म कतार गएको थिएँ । ट्र्याक्टरले आशा गरेको अनुसार उत्पादन दिन सकेन । अर्को तर्फ मेरी आमा बिरामी हुनुहुन्थ्यो । परिवारको जेठो छोरा भएको नाताले परिवारको हेरचाह गर्ने जिम्मेवारी मेरो हुन्छ । नेपालमा कुनै कामको  अवसर नभएपछि कतै न कतै रोजगारी खोज्नुपर्ने थियो। थोरै खेतिपातीले हाम्रो जीविका धान्न सकिएन ।

म २०७३ सालमा म कतार गएँ र मैले एयरपोर्टमा सरसफाइ गर्ने काम पाएँ। केही सफाईको काम मान्छेले गर्नुपर्थ्यो त केही मेशिनले गर्थ्यो । काम गार्हो थियो तर मलाई  घरमा हुँदा खेतमा काम गर्ने बानी थियो। मैले जे गर्नु पर्ने थियो त्यही गरेँ। तलब हात पर्नासाथ बुबालाई पठाएँ र बिस्तारै उहाँको ॠण तिर्न सहयोग गर्दै गएँ ।

जेठो छोराको कर्तव्य निभाउन सकेकोमा म पनि खुशी थिएँ । घरमा परिवार सँग बस्न चाहे पनि घर बसेर परिवारको आर्थिक आवश्यकता पूरा हुन्नथ्यो । त्यसैले मन मारेरै भविश्य सम्झेर कतारमा निरन्तर काम गरिरहेँ । विस्तारै बुवाको ॠण चुक्ता गर्दै गएँ तर बचत गर्न अरु थप केही वर्ष लाग्थ्यो ।   

यसै बिच हामीले टिभीमा चीनमा फैलिएको एउटा रोगको बारेमा समाचारहरू प्राप्त गर्न थाल्यौं र केही समय पश्चात नै यो रोग अरू देशहरूमा पनि फैलियो भन्ने सुन्यौँ । तर यो चाँडै हाम्रो काम गर्ने ठाउँमा पुग्नेछ भन्ने कल्पना गरेथेनौँ । मलाई याद छ एक दिन बस सफा गरीरहेथेँ । एकजना आएर मलाई मैले सफा गरिरहेको बस भाइरस संक्रमण भएको एक व्यक्तिले चलाएको थियो भन्ने खबर दियो । म त्यस दिन साँच्चिकै डराएको थिएँ र रातभर सुत्न सकिनँ । धेरै समय पछि रोजगारदाताले हाम्रो स्वास्थ्य अवस्थाको विवरण संकलन गर्न थाले। उनिहरु आएर हामीलाई केही लक्षणहरू देखिएको छ कि भनेर सोध्थे। बिरामी परेका केहीलाई परीक्षणको लागि लगिए र उनिहरुको रिपोर्टमा संक्रमण देखियो। त्यतिखेर हामीले यो उपचार गर्न गाह्रो रोग हो भन्ने सुनेथ्यौँ । आफ्नो साथीहरुमा संक्रमण हुँदा हामीलाई दु:ख लाग्यो ।

केही दिन पछि हामीलाई जागिर मिलाइदिने एजेन्सीले हामीलाई एक हप्ता छुट्टी बस्नुपर्ने बतायो। हामी सबैले रोगको परीक्षण गराउनु पर्ने र स्वस्थ प्रमाणित भए काममा फर्कन पाइने भयो । तर एक हप्ता पछि रोगका कारणले एअरपोर्ट बन्द रहेकाले हाम्रो काम नै नभएको खबर दिइयो ।

हामी कम्पनीले उपलब्ध गराएको आवास गृहमा विस्तारै सामान्य अवस्थामा फर्कने आशमा अर्को दुई महिना बस्‍यौं । तर स्थिती अझ खराब हुँदै गयो । हाम्रो जागिर गुमिसकेको थियो र थोरै भएको बचत पनि बिस्तारै सकिदै गइरहेको थियो । हामीले अन्ततः हामी नराम्ररी फसिसकेको बुझ्यौँ र कम्पनीमा कुरा राख्ने निर्णय गर्यौं। मैले काम नभएकोले घर फर्कने निर्णय गरेँ । मैले आफ्नो कार्यकाल पूरा गर्न नसकेको र मेरो आय श्रोत पनि गुमेकोले म दु:खी थिएँ । तर मसँग अरु कुनै विकल्प थिएन।

नेपाली दूतावास मार्फत जहाज टिकट र कोरोना परीक्षणको व्यवस्था गरी हामी सबैलाई नेपाल फर्कन सहयोग गरियो। काठमाण्डौँ ओर्लिए पछि थाहा भयो जहाजमा कतारको जेलबाट रिहा भएर फर्किएकाहरुको परिक्षण गरिएको थिएन। हामी क्वरन्टिनमा बस्नुपर्ने भयो । धन्न हामी कसैलाई सरेको रहेनछ र हाम्रो क्वरन्टिनको खर्च पनि सरकारले व्यहोर्यो ।

म घरमा एक महिना सम्म छुट्टै बसेँ । त्यस समयमा मैले विदेशबाट फर्केका व्यक्तिहरूबाट रोग सर्ला भनेर स्थानीय मानिसहरू धेरै डराएको  देखेँ । मेरो अगाडि केही नभने पनि मानिसहरू म बाट टाढा भएको महशुस गरेँ । मैले परिक्षण गराएर रोग नभएको प्रमाणित भईसके पनि मानिसहरुमा रोग सार्छ भन्ने डर रहेको बुझेकोथिएँ ।

सबैभन्दा नराम्रो तब भयो जब घरको आर्थिक अवस्था सतहमा देखिन थाल्यो। ॠण तिर्न बाँकी नै थियो। नियमित आय अथवा जागिर बिहिन भएको थिएँ म । यस्तो समयमा पनि सरकारबाट कुनै सहयोग आएन। कुनै रोजगारको अवसर थिएन र सहुलियत ॠण पनि उपलब्ध थिएन । हुनसक्छ कि त्यस्ता अवसरहरू भए पनि त्यसको बारेमा म तथा मसँग घर फर्केका मेरा साथीहरूसम्म कहिल्यै पुग्न सकेन। मेरा साथीहरुले पनि त्यस्तो व्यबस्थाको बारेमा थाहा पाएनन् ।

साँच्ची भन्दा, राज्यले हामीले भोग्ने समस्याहरू बुझेकोछ भन्ने मलाई लाग्दैन । हाम्रो वास्तविक अवस्था बुझिदिएको भए राम्रो हुन्थ्यो । यदि सरकारबाट सहयोग पाउने हो भने म खेतीपाती गरी घरमै बस्न सक्छु । म च्याउ तथा अन्य खेती गर्न सक्छु । विदेशको त्यो गर्मीमा परिश्रम गर्न कस्लाई मन पर्छ र? नेपालमै युवाको लागि आर्थिक सहायता वा सहुलियत ॠण उपलब्ध भए म आफ्नै व्यवसाय खोल्न सक्छु र फेरि विदेश जाने छैन । तर सरकारको तर्फबाट कुनै सहयोग छैन। सुख दु:ख आँफै गर्नुपर्छ । कडा परिश्रम गर्नुपर्छ। जीवनमा जे आइपरे पनि हामीले सहनु पर्छ।