सुर्जे किरण गुरागाइँ
मेचीनगर ३, झापा

"ग्रामीण नेपालका धेरैजसो परिवारहरू जस्तै हामी पनि जीविकापार्जनका लागि कृषिमा निर्भर थियौँ । हामी सबै परिवार बुबाको कमाइमा आश्रित थियौँ। उहाँलाई अचानक उच्च रक्तचापको बिमारीले च्याप्यो र काम गर्न नसक्ने हुनुभयो । घरमा यस्तो समस्या परे पछि मैले पढाई छोड्नु पर्यो । र २०६५ सालमा जब म १८ वर्ष पुगेँ परिवारको लागि कमाउन म कतार गएँ ।

कतारमा ५ वर्ष सम्म काम गर्दै घरमा पैसा पठाउदा मेरो परिवारको आर्थिक बोझ केही हल्का भयो । मैले आफ्नो जिम्मेवारी निभाउदा अन्ततः मेरी आमाले केही सपनाहरु बुन्न थाल्नुभएकोथियो र मेरो बुबा खुशी हुनुहुन्थ्यो । जब म ५ वर्ष पछि घर फर्कें, उहाँहरू खुशी हुनुभयो । तर मलाई थाहा थियो म धेरै दिन बस्न सक्दिन । नियमित र स्थिर आम्दानी बिना हामी घर खर्च र बुबाको उपचार खर्च जुटाउन सक्दैनथ्यौँ ।

म बुबा र आमालाई सघाउँदै ४ बर्षसम्म घरमा बसेँ । यि चार बर्षहरु मेरा लागि गाह्रो थियो । हाम्रो स्थिर आय थिएन र हामीले उब्जाएको अन्न बर्ष भरि खान पुग्थेन। मेरो परिवारको आयमा सहयोग गर्ने एक मात्र तरीका भनेको अर्को आयजन्य काम गर्नु हो भन्ने मलाई थाहा थियो। यो मेरो इच्छा थिएन तर आवश्यक थियो। कोही पनि घर छाडेर आप्रवासी हुन चाहँदैन।

४ वर्ष घरमा बसेपछि मैले दुबईको लागि आवेदन दिएँ र एकपटक फेरि राम्रो जीवनको खोजीमा घर छाडेँ ।

घर परिवारको न्यानो माया र सुख त्याग्नु परे पनि मैले परिवारको लागि केही गरिरहेको छु भन्ने कुरामा म सन्तुष्ट भएँ। जब सम्म मैले काम गरेर कमाउथेँ, हाम्रो वर्तमान र भविष्य सुरक्षित हुन्थ्यो । २ बर्ष पछि म घर आएँ, विवाह गरेँ र केही समय मेरी नयाँ दुलहीसँग बिताएपछि दुबईमा आफ्नो काम जारी राख्न फर्कें। म मेरी श्रीमतीलाई घरमा छोडेर जानुपर्दा दु:खी थिएँ । तर मेरा आमाबुबाको साथमा बस्ने र उहाँहरूको हेरचाह गर्ने कोही भएकोमा म खुशी पनि थिएँ । केही महिना पछि मैले मेरी श्रीमती गर्भवती भएको खबर पाएँ। बुबा बन्न पाएकोमा खुसी र उत्साहित थिएँ । म मेरो बच्चालाई स्वागत गर्न घर आएँ तर काममा फर्कनु पर्ने भएकाले मैले चाहेको जस्तो धेरै बस्न सकिनँ ।

म घरमा गएर केही उद्यम गर्न पुग्ने पैसा पुर्याउने सपना देख्दैथिएँ । अब म एक बुबा पनि भएको कारण भविष्य सोच्दा केही डर लाग्छ । अझ केवल एक बुबा मात्र होइन म एक जेठा छोरा, एक पति र एक भाइ पनि हुँँ र म नकारात्मक सोचेर बस्न सक्दिनँ ।

म मेरो भाइको विवाहको लागि २०७६ मा नेपाल फर्कें। त्यसको लगत्तै, कोरोना भाईरस महामारी फैलियो । म युएई आफ्नो काममा फर्कन चाहन्थेँ । मैले युएईमा बन्दाबन्दी (lockdown) भएको खबर सुनें । मैले मेरो जागिर नगुमोस् भनेर जतिसक्दो चाँडो फर्कने योजना बनाएँ । दुर्भाग्यवस म युएई फर्कन सकिनँ । यूएइमा लकडाउन भयो र सबै उडानहरू रद्द गरिए।

के भइरहेको थियो भन्ने मैले बुझ्न सकेको थिइनँ । तर अवस्था खराब हुँदैथियो । केही दिन पछि नेपालमा लकडाउन सुरु भयो। हाम्रो आयको एकमात्र स्रोत माथि एक अज्ञात दुश्मनको आँखा लाग्यो । हामीले हाम्रो ॠण तिर्न सकेनौँ । र जब साहुले हामी सँग पैसा फिर्ता मागे हामीले अरु नयाँ ॠण लिएर पुरानो चुकाउनु पर्यो । हामी मध्ये कति जनाले घर बनाउन बैंकबाट ॠण लिएका थियौं। रोजगार गुमेको र रेमिट्यान्स रोकिएको यो विश्वव्यापी दुर्दशा बैंकले बुझ्न सकेन। हामीलाई यस परिस्थितीबाट पुनरुत्थान पाउन धेरै वर्ष लाग्नेछ ।

हामीले सरकारबाट कुनै सहयोग पाएका छैनौँ । र कुनै आशा पनि राखेका छैनौं। नेपालमा रोजगारीको अवसर छैन । स्वास्थ्य र वित्तीय सुरक्षाको कुनै प्रावधान छैन । उद्योग कारखाना इत्यादीको कुनै सम्भावना छैन । हाम्रो जीविका हामी आँफैमा निर्भर छ। यदि मैले बैंकबाट ॠण लिन चाहेँ भने बैंकले मेरो पृष्ठभूमि जाँच गर्छ र बैंकले म वैदेशिक रोजगारीबाट फर्केको हुँ भन्ने थाहा पाए पछि मेरो ॠण स्विकृत हुँदैन । उनीहरूलाई लाग्छ कि हाम्रो यो देशसँग कुनै सम्बन्ध हुँदैन र हामी छिट्टै देश छाडेर बाहिरिने छौँ ।

मेरो असहाय बुबा मेरो भविश्य प्रति चिन्तित रहनुभएको देख्दा सबै भन्दा नरमाइलो लाग्छ । मैले मेरा कागजातहरू दुई श्रमिक भर्ना एजेन्सीहरूमा पठाइसकेको छु । जवाफ पर्खिरहेछु । तर यो प्रतीक्षा लामो भईसकेको छ। दिन, महिनाहरु बित्दैछन्, अत्ति बिस्तारै बितिरहेकोछ । यो दु:ख को सँग पोखौँ ?”