तुलसी बिक
पञ्चपुरी- ५, सुर्खेत

“मैले भर्खरै मात्र उहाँले साउदी अरेबियाको रियाद भोग्नु परेको पीडाको बारेमा थाहा पाएँ। हामीलाई चिन्ता नहोस् भनेर उहाँले कहिले पनि हामीलाई यसबारेमा केही भन्नुभएन। तर अहिले उहाँका कथाहरू सुन्दा मेरो श्वास रोकिन्छ । मलाई खुशी लाग्छ कि उहाँ अब घर फर्किसक्नुभएको छ। कमसेकम उहाँ सुरक्षित हुनुहुन्छ र उहाँसँग हामी सबै कुनै न कुनै रूपमा बाँच्नेछौं। मलाई आशा छ कि यदि हामीले लडाईं जारी राख्यौं र बाँच्न जारी राख्यौं भने अन्ततः सबै कुरा ठीक हुनेछ ।

उहाँको अनुपस्थितिमा मलाई सजिलो थिएन । पैसा मात्र सबै कुरा हैन । दु:खको बेला मानिसलाई भावनात्मक सहयोग पनि चाहिन्छ। कोही होस् जसले तपाईलाई आशा र भरोसा दिन्छ र भन्छ कि सब कुरा ठीक हुन्छ। जुन मसँग त्यो थिएन।

मैले काम गरेको स्कूल बन्द भएकोथियो र मैले मेरो आम्दानी गुमाएकी थिएँ । कहिलेकाँही मेरो छोरोलाई श्वासप्रश्वास सम्बन्धी समस्या हुन्थ्यो । तर उसलाई अस्पताल लैजान सक्दिनथेँ । बन्दाबन्दीका कारण अति गम्भिर बिमारीहरुलाई मात्र अस्पताल लैजान भनिएको थियो । मैले उसलाई डाक्टरले लेखिदिएको औषधिहरू दिदैगएँ। तर उसको खोकी कम भएको थिएन। ऊ अहिले ठीक भएको छ । तर म कति चोटि धेरै आत्तिएकी थिएँ । पसल बन्द थियो । खानेकुराको अभाव थियो। जब तपाईं केहि खरीद गर्न सक्नुहुन्न पैसाको कुनै महत्व हुँदैन। मसँग त बैंकमा पैसा बचत पनि थिएन। त्यो समयमा तपाइँलाई सहयोग गर्ने कोही हुन्न । कसैले पनि तपाईलाई विश्वास गर्दैन । तपाईंलाई १०० रुपैयाँको लागि पनि कसैले पत्याउँदैन । 

मलाई म थुनिएको महशुस भएको थियो । तर खानेकुराको खोजीमा मैले बाहिर काम जानुपर्ने भयो । म बाहिर जाँदा भाईरस घर भित्र्याउँला भनेर म र मेरो परिवार सबैलाई डर लाग्यो । मेरा घरबेटिहरू पनि डराउनुभयो र म घर नफर्कोस भन्ने चाहनुभयो ।

म मेरी आमाको घर नजिक बस्न गएँ भने राम्रो हुन्छ भन्ने लाग्यो । आमाको नजिक बसेँ भने भोको रहने छैनौँ भन्ने लाग्यो । तर मेरो भाई पनि विदेशमा छ। मेरी आमालाई पनि सजिलो छैन । हामी राहतमा बाँडिएको चामल, फलफूल, तेल, नुन र चिनीको भरमा बाँचेका थियौं।

मलाई सबै भन्दा बढि के कुराले चोट पुर्‍यायो भने मैले मेरो रोजगारदाताबाट सहयोग पाइनँ। मैले यो कुरा रोजगारदातालाई भनेँ। तर म उहाँहरूको दुविधा (समस्या) पनि बुझ्छु। यो विश्वभर फैलिएको एक विषम परिस्थिती हो । यसले कसैलाई बाँकी राखेको छैन । उहाँहरू पनि डराउनुभएकोछ र भविष्य निश्चित नभएको कारण उहाँहरूले आफ्नो हितलाई प्राथमिकता दिनुभयो । म बुझ्दछु। मैले सायद यही कुरा गरेको थिएँ। अब म उहाँहरूलाई माफ गर्छु किनकि उहाँहरूले मलाई काम दिनुभएकोछ र मेरो आवश्यकता पुरा गर्नुभएको छ । उहाँहरूले मलाई ओभरटाईम काम गर्न दिनुभएकोछ र थप तलब पाएकीछु । जब मलाई अचानक पैसा चाहिन्छ पहिला जाने उहाँहरुकोमा नै हो ।

बन्दाबन्दी पछि म मेरो भाडाको कोठामा फर्कें। तर मेरो श्रीमान नेपाल फर्कनुभएपछि श्रीमानलाई हामीसँग बस्न दिएनन्। विदेशबाट फर्केकाहरुले भाईरस ल्याएका हुन्छन भन्ने गलत सोँच थियो। फर्के पछि भाईरस रोकथामका सबै स्वास्थ्य नियम पूरा गरे पनि उहाँहरुले भेदभाव भोग्नु पर्‍यो।

अहिले सबै कुरा सामान्य जस्तो देखिने र मेरो श्रीमान हामीसँगै भएपनि मलाई अझै पनि डर लाग्छ । फेरि त्यस्तै भयो भने के हुन्छ? हामी सबै यस डरका साथ बाँचिरहेका छौं। भर्खरै मेरो श्रीमानले फेरी साउदी अरेबिया काम गर्न जाने बारे कुरा गर्न थाल्नुभएको छ। किनकि नेपालमा जागिर पाउने वा अरु कुनै ब्यापार व्यबशाय सुरु गर्न सकिने सम्भावना छैन। उहाँलाई के सल्लाह दिनुपर्ने हो मलाई थाहा छैन । मैले उहाँलाई पहिला भोग्नु परेको दु:खहरूको बारेमा मात्र सम्झना गराएँ। म उहाँलाई फेरि नजानुस भन्छु। मलाई लाग्छ यदि उहाँ यहाँ बस्नुभयो भने केही न केही समाधानको बाटो भेटिएला। मेरो लागि हामी सँगै रहनु हाम्रो भविष्यको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सँगै हुनु हाम्रो छोराको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।”